तपाईंको जीवनको लक्ष्य र मनको शान्ति पाउनुहोस् मात्र १० मिनेटमा

हेल्लो, सबैलाई नमस्ते । म हुँ नितिश खतिवडा र Codes of Millionaire Mindset को चौथो एपिसोडमा यहाँलाई स्वागत छ ।

नेपालगन्जमा भएको घटनाले हामीलाई साह्रै दुःखी बनाएको छ । अशान्त बसेर, आत्तिएर अथवा क्रोधित भएर अहिलेको समस्याको समाधान हुनेछैन ।आजको हाम्रो यो एपिसोडमा हामीले शान्ति, सृजनात्मकता र सफलता कसरी प्राप्त गर्ने, त्यसको लागि एउटा सजिलो अभ्यास लिएर आएका छौं। आजको अभ्यासले पूर्णरूपमा काम गर्नलाई तपाईंले यो एपिसोड अन्तिमसम्म हेर्नुपर्ने हुन्छ।

यो हाम्रो चौथो एपिसोडले हामीले अघिल्लो सबै एपिसोडमा भनेका कुराहरुलाई वास्तविक जीवनमा उतार्न यहाँहरुलाई मद्दत गर्नेछ।

हामी सुरु गर्दछौं, अब।

अभ्यासमा जानुभन्दा अगाडि एउटा तथ्य म तपाईंहरुलाई भन्न चाहन्छु : एक वर्षमा 5 लाख नयाँ मान्छे अर्वपति बनिन्छन् । र अन्य दशौं लाख मान्छेले आफ्नो सफलता प्राप्त गर्छन् । कसैले प्राप्त गर्दैन भने त्यसको एउटै कारण छ, उसले आफुमा विश्वास गर्दैन। आज हामीले गर्न लागेको अभ्यास अशान्त मन र आत्मविश्वासको खडेरीको ओखती पनि हो ।

आफ्नो वातावरणलाई शान्त बनाउनुहोस् र कुनै ठाउँमा आरामले सजिलो हुने तरिकाले बस्नुहोस्। पलेटी कसेर बस्न सक्नु भयो भने सबैभन्दा राम्रो, होइन भने कुर्सीमा/ मेचमा जे मा बस्नु भएपनि हुन्छ, मात्र मेरुदण्ड सिधा होस् । तपाईंलाई धेरै गार्हो हुन्छ भने तल कम्मरको पछाडि थोरै अडेस लाग्नु भएपनि हुन्छ, सानो सिरानी अथवा कुसन राख्नु भए हुन्छ तर शरीरको अरु भाग चाहिँ स्वतन्त्र नै होस्।

आजसम्म तपाईले यस्तो अभ्यास गर्नु भएको छैन भने पनि आजको यो अभ्यास तपाईंले गर्न सक्नुहुनेछ। आजसम्म यस्तो अभ्यास गर्दै गर्नु भएको छ भने तपाईंले सिक्नुभएको सबै कुरा आज बिर्सिदिनुहोस् र आज हामीले जे भन्छौं त्यही गर्दै जानुहोस्।

आज तपाईंको मन को शान्ति र जीवनको उद्देश्य खोज्ने दिन हो । यो अभ्यासको प्रभावकारिताको लागि अन्तिम सम्म हामीले जसरी भन्छौं त्यसरी नै सबै कुरा गर्दै जानु होला। भने अनुसार गर्दै जानु भयो भने तपाईंको मनको शान्ति र जीवनको लक्ष्य आज भेट्नु हुनेछ । त्यसको ग्यारेन्टी।

तपाईंको हात घुँडा माथि आकाशतिर फर्काएर खुला बनाएर राख्नु होस्।

अब तपाइको आँखा चिम्म गर्नुहोस्।

कल्पना गर्नुहोस् तपाईंको एउटा पुच्छर पलाउँदै छ। त्यो पुच्छर ज्योतिको प्रकाशले बनेको छ। र त्यो ज्योतिको रङ सुनौलो, सेतो अथवा वैजनी छ।

अब त्यो तपाईंको पुच्छर बिस्तारै बढ्दै मुनि पृथ्वी भित्र छिर्यो र पृथ्वीको भित्री गर्भमा पुग्यो। पृथ्वीको गर्भमा पुग्ना साथ त्यो पुच्छरको माध्यमबाट धर्तीको उर्जा तपाईंको शरीरमा आउन थाल्यो । पुच्छरको रंग अझै चम्किलो हुँदै गएको छ । यतिबेला कसैकसैले शरीर तातो हुँदै आएको, कसैलाई करेन्ट लागेजस्तो, र कसैकसैलाई चिलाए जस्तो अथवा असहज भएजस्तो हुनसक्छ, र कसैलाई सबै पनि हुनसक्छ, त्यो एकदमै स्वभाविक हो।

तपाईले कल्पना गर्नुहोस् त्यो उर्जा तपाईंको शरीरमा समाहित हुँदैछ र हातगोडा, टाउको र शरीरको कण कण सम्म त्यो उर्जा संचार भइरहेको छ र तपाईंको शरीर हलुका हुँदैछ। तपाईको हत्केलामा पनि तातो अथवा करेन्ट लागेको अथवा चिलाएको अनुभव हुँदैछ। त्यो हत्केलामा भएको अनुभूति धर्तीबाट तपाईंको शरीरमा आएको उर्जाको अंश हो।आउनुहोस्, त्यसको परीक्षण गरौं।

तपाईंको दुइटै हत्केला आफू अगाडि पुर्याउनुहोस् र एकअर्कातिर फर्काएर राख्नु होस्। अब हत्केलाहरुलाई बिस्तारै एकअर्का तिर धकेल्नुहोस्। तपाईले एक किसिमको झंझनाहट र कुनै गिलो चिजलाई थिचेजस्तो अनुभूति गर्नुहुनेछ । त्यो तपाईंले प्राप्त गर्नुभएको उर्जा संगठित भएर तपाईंको हत्केलाबाट निस्केको हो । तपाइँले हत्केलाको ऊर्जाको बारेमा जति सोच्नुहुन्छ त्यति त्यसको प्रभाव र शक्ति कम भए जस्तो लाग्छ। त्यहि भएर आफ्नो ध्यान धर्तिबाट उर्जा प्राप्त गरेको तिर लाउनु होस् । अब आफ्नो आँखा चिम्म गर्नुहोस्।

तपाईंको शरीर ऊर्जाले भरिई सक्यो, तपाईंको मनमा लागेको कुविचार, शरीरमा भएको गडबडी बिस्तारै हराउँदैछ र तपाईंको शरीर पनि त्यही ऊर्जाकाे रंगमा परिणत हुँदैछ।

त्यो उर्जा बगेर, नाश भएर नजाओस् भनेर हामीले अब हाम्रो वरिपरि एउटा कवज बनाउदैछौं।

तपाईंको छातीको सीधा अगाडि एउटा कमलको फूलको कल्पना गर्नुहोस्। त्यो फूल कसरी बनिरहेको छ, त्यसको डाँठ कस्तो छ, त्यसको पत्ता कस्तो छ, सबै विस्तृतमा कल्पना गर्नुहोस्।

अब यस्तै कमल तपाईको दायाँ पट्टी, तपाईंको बायाँ पट्टि, तपाईंको पछाडि, तपाईको टाउको माथि, र तपाईंको खुट्टा मुनि/शरीर मुनि पनि भएको कल्पना गर्नुहोस् ।

सबै कमल बनिसक्यो? अब तपाईंको अगाडिको कमललाई हेर्नुहोस् । त्यो कमलबाट सुनौलो अथवा वैजनी रङको लहरा पलाउँदै छ र त्यो लहरा तपाईंको शिर माथीको, तपाईंको दाँया पट्टीको, बायाँपट्टि र शरीर मुनिको कमलसँग जोडिँदै छ । पछाडीको कमलबाट पनि त्यसरी नै सबै कमल तिर लहरा आउँदै छ । त्यो लहरा अत्यन्तै दर्हो छ र त्यसलाई कसैले पनि, कुनै चिजले पनि छेद गर्न अथवा भत्काउन सक्दैन।

यो तपाईंको सुरक्षा कवच बन्यो । यसबाट नकारात्मक शक्ति तपाईंको नजिक आउन सक्दैन र तपाईंको ऊर्जा पनि तपाईंको अनुमति बिना कवच नाघेर जान सक्दैन तर सकारात्मक शक्ति भने तपाईले प्राप्त गर्न सक्नुहुनेछ । धर्तिबाट आएको उर्जा र यो कवच अब तपाईंको शरीर वरिपरि तपाईंको जिन्दगी भरलाई बन्यो । तपाई जहाँ जहाँ जानुहुन्छ यो कवच र धर्तीको उर्जा तपाईंसँगै सधै हुनेछ । तपाईले चाहेको बेला कवचको आकार र धर्तिबाट प्राप्त हुने ऊर्जाको तिव्रता बढाउन र घटाउन पनि सक्नु हुनेछ । तपाईले प्राप्त गर्नुभएको नयाँ शक्तिको लागि तपाईलाई बधाई छ। मन मनै आफूलाई स्याबासी दिनुहोस् र खुशी हुनुहोस्। संसारमा साह्रै थोरै मान्छेले मात्र यो मौका पाउँछन् ।

अब कल्पना गर्नुहोस, तपाईं एउटा पोखरी, अथवा तालको किनारमा हुनुहुन्छ। त्यसको पानी हेर्नुहोस् त, अनि वरिपरिको वातावरण पनि हेर्नुहोस्। घाम न्यानो लागेको छ, फूल फुलेको छ, त्यहाँ नजिकै पार्क छ, त्यो पनि सार्है रमाईलो तरिकाले बनाएको रहेछ, अनि तालको पानी शान्त, ढक्क जमेको, लाग्छ कुनै कुराले त्यसलाई केही फरक नै पर्दैन। त्यसलाई एकछिन बसेर हेर्नुहोस्। कति आनन्द, कति रमाइलो, कति मन्त्रमुग्ध बनाउने दृश्य। तपाईं कति शान्त र खुशी हुनुहुन्छ। वास्तवमा तपाईं मुस्कुराइ रहनु भएको छ र मनमा धेरै शान्त महसुस गर्दै हुनुहुन्छ ।

अब यसो दायाँ पट्टी हेर्नु भयो भने तपाईले एउटा ढुङ्गाले छापेको बाटो देख्नु हुनेछ । त्यो बाटो तिर लाग्नुहोस् । अगाडि हिँड्दै जाँदा, तपाईले दोबाटो देख्नु हुनेछ। त्यो दोबाटोमा एउटा बोर्ड छ जहाँ एकातिर तपाईंको अहिलेको profession अथवा career जाने बाटो लेखिएको छ। अर्को तिर तपाईंले जिवनमा जान खोज्नुभएको/ईच्छाउनु भएको बाटो भनेर लेखेको छ ।

वास्तविक जीवनमा जेसुकै होस्, अहिले निर्णय तपाईंले गर्न सक्नुहुन्छ। अब तपाईं आफुले जान चाहनुभएको बाटो तिर हिँड्दै जानुहोस्। आफ्नो मन अन्य सम्भाव्यताको लागि खुला राख्नु होला। त्यो बाटोमा हिँड्दै जाँदा अगाडि तपाईले अर्को दोबाटो पाउनुहुनेछ। भेट्टाउनुभयो?

त्यो एउटा बाटो त तपाईले रोज्नु भएको बाटो हो, यो अर्को बाटोचाहिँ के हो?

यो अर्को बाटो तपाईंको जीवनको उद्देश्य प्राप्त गर्नको लागि छुट्याइएको बाटो हो। कुन बाटो रोज्ने तपाईंको जिम्मा तर आज त्यो बाटो रोज्नुहोस् जुन तपाईंको जीवनको उद्देश्य भनेर बनाइएको छ। जे गर्नको लागि यो धर्तीमा तपाईको जन्म भएको हो, त्यो काम तिर पुग्ने बाटो हो त्यो। यो बाटोको अन्त्यमा तपाईंले अहिलेसम्म गर्छु भनेर सोच्दै नसोच्नु भएको काम पनि देख्न सक्नु हुनेछ । र यसबाट चकित चाहिँ न हुनुहोला। कहिले काहिँ जीवनमा अरुको कुरा सुन्दा सुन्दै कहाँ पुगिन्छ थाहा हुँदैन।

तपाईं अघि बढ्दै जाँदा तपाईंको जीवनको लक्ष्यको द्वार/गेटमा तपाईं पुग्नुभएको छ । गेटमा तपाईंको लक्ष्य प्रष्ट सँग लेखिएको छ। तपाईंले अहिलेसम्म गर्छु भनेर सोच्दै नसोच्नु भएको काम पनि हुन सक्छ, चकित न हुनुहोला।

गेट भव्य बनाइएको छ र त्यो ठाउँ अति नै राम्ररी सजाइएको छ। तपाईलाई स्वागत गर्न त्यहाँ लाखौं मान्छे उभिएका छन्। तपाइँको नजिक आउने मान्छेहरू को को छन् कृपया अनुहार याद गर्नुहोला। सबैले तपाईंलाई तपाईले आफ्नो जीवनको लक्ष्य पछ्याउनु भएकोमा र त्यसमा सफल हुनुभएकोमा बधाई भनिरहेका छन् ।

तपाईंका वरिपरिका सबै मान्छे खुसी छन् र तपाईंलाई देख्न पाउँदा उनीहरूको हर्षको सीमा छैन। त्यहाँ अगाडि तपाईंको लागि भव्यरुपमा सजाइएको स्टेजतिर तपाईं बढ्दै हुनुहुन्छ र तपाईंलाई साथ दिने, सहयोग गर्ने अनुहारहरु तपाईंले देख्दै हुनुहुन्छ।

स्टेजमा पुगेर यसो वरिपरि हेर्नुहोस त, ती मान्छे देखेर, त्यो सबै भीड देखेर तपाईं अत्ति नै हर्षित हुनुभएको छ र सबैले सुन्ने गरी यो निर्णय गर्नुभएको छ (कृपया मन मनै यसलाई दोहोर्याउनु होला) “म मेरो जीवनको लक्ष्यमा काम गर्दै जानेछु र तपाईहरुले मलाई यो बाटो हिँड्न सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुको साथको लागि म आभारी छु । र मेरो यहाँलाई वचन भयो, यो बाटोमा हिड्दै गर्दा जस्तो सुकै अफ्ठ्यारा आए पनि म यो बाटो कहिले छोड्ने छैन”।

अब तपाईं हर्षित हुँदै, सबैलाई धन्यवाद भन्दै, बिदा माग्दै त्यहाँ बाट निस्किनु होस् । अघि सुरुमा यो अभ्यास गर्न बस्दा जहाँ हुनुहुन्थ्यो त्यहि जानुहोस्। र बिस्तारै आँखा खोल्नुहोस् ।

बधाई छ। आज तपाईले आफ्नो मनको शान्ति र तपाईंको जीवनको उद्देश्य प्राप्त गर्नुभएको छ। तपाईंको शान्ति र सफलता हाम्रो कामना।

आजको एपिसोडमा अन्तिम सम्म बस्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।

आजको एपिसोडले तपाईंमा कुनै परिवर्तन ल्याएको छ जस्तो लाग्यो भने लाइक गर्नुहोला र तपाईंको जीवनको उद्देश्य के रहेछ तल कमेन्टमा अवश्य लेखिदिनुहोला । साथै यो एपिसोड अरु कसैलाई काम लाग्छ जस्तो लाग्छ भने शेयर गर्न सम्झनु होला । तपाईको कुनै प्रश्न अथवा जिज्ञासा भए कमेन्टमा लेख्नुहोला ।जिज्ञासाको जवाफ दिन र तपाईंको सुझाव लिन हामी सधैं तत्पर छौं।

नमस्ते।

Published by Nitesh

I have a different perspective to things around. Here I am to share my perspective so that you can see the world differently and be more happy.

Leave a comment

Design a site like this with WordPress.com
Get started